बाँके नरैनापुरको क्वारेन्टाइनमा एक युवकको मृत्यु

बाँके,जेठ,४-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज(आइतबार) मृत्यु भएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब हिजो नै संकलन गरिसकिएकाले आजै रिपोर्ट आउने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो।

एकैदिन आठ संक्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २ सय ६३ जनाको हिजो स्वाब सङ्कलन गरिएको छ ।

राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ ।नरैनापुरका आठ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भैसकेको छ ।