एएफसी यू–१६ : नेपाल र श्रीलंका भिड्ने

खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुने

काठमाण्डौं,असोज,५-

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले आज (आइतबार) श्रीलंकासँग खेल्दैछ ।

अघिल्ला ३ खेलमा १ अंक जोडेको नेपालले चौंथो खेलमा श्रीलंकासँग खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने हुने छैन ।

किनकी चिरपरिचित प्रतिद्वन्द्वी श्रीलंकालाई नेपालले पराजित गर्दै आइरहेको छ । त्यसैले छनोटबाट बाहिरिसकेको नेपाल एक जित निकाल्दै घर फर्कन चाहन्छ । नेपाल तालिकाको चौंथो स्थानमा छ ।

यता, श्रीलंका पनि नेपालविरुद्ध पहिलो अंकको खोजीमा हुनेछ । प्रतियोगितामा श्रीलंका अंक जोड्न नसक्ने एक्लो टिम हो । श्रीलंका पुछारमा रहेको छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा भने नेपाल ताजिकिस्तानसँग ८-० ले पराजित भएको थियो ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।खेलपाटीबाट