१२ वर्ष पछि पुन : जापानको ओसाकाबाट निगमको उडान सुरु

दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैँया

जापान,भाद्र,१२-

Nepal Airline Osaka Japan.( फोटो साभार सामाजीक संजाल फेशबुक मार्फत )

नेपाल वायुसेवा निगमले जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेको छ। निगमको वाइडबडी ए–३३० जहाज बिहीबार बिहान २:३० बजे काठमाडौंबाट ओसाका उडेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो । यो संगै १२ वर्षपछि पुन: निगमको सिधा जापान उडान सुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओसाका उडानको उद्घाटन गर्नु भएको थियो । विमानस्थलमा औपचारिक उद्घाटनलगत्तै वाइडबडी जहाजले ओसाकाका लागि उडान भरेको हो। निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्यअभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रूपैयाँ नयाँ भाडादर रहेको निगमले जनाएको छ। यसमा दुईतर्फी भाडा ७२ हजार ८ सय १४ नेपाली रूपैयाँ रहेको छ।

Osaka Japan (फोटो साभार सामाजीक संजाल फेशबुक मार्फत)

अहिलेको यो भाडा प्रवर्द्धनात्मक रहेको छ। अबको एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले बताएको छ। ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १ सय ३० यात्रु जापान गएको निगमका प्रवक्ता चन्दले जानकारी दिनुभयो । पहिले पनि निगमले जापान उडान गर्ने गरेको थियो तर तत्कालीन समयमा विमान संख्या नभएपछि उडान रोकिएको थियो। निगमका अनुसार तत्कालीन परिस्थितिमा बजारको कारण नभई विमानको कमीका कारण ओसाकाको उडान स्थगित गर्नुपरेको थियो।

अहिले निगमसँग न्यारोबडी दुई र वाइडबडी दुई समेत गरी अन्तर्राष्ट्रिय उडानका लागि चारवटा विमान रहेका छन्। अहिले निर्धारित उडान तालिकाअनुसार हप्ताको तीनवटा उडान मंगलबार, बिहीबार र शनिबार हुनेछ। निगमको जहाज काठमाडौँबाट रातिको २ बजेर ३० मिनेटमा ओसाकाका लागि उड्ने र जापानको स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाकामा अवतरण गर्नेछ। त्यस्तै, सोही दिन दिनको १: ५५ बजे ओसाकाबाट उडान गरी नेपालमा साँझ अवतरण गर्ने पूर्वनिर्धारित तालिका रहेको छ। नेपालखबरबाट