आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ,असार,७-आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस।नेपालमा पनि विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईन्छ ।  संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए। यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ ।

योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले आज विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम हुँदैछन् ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ ।

नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ ।