विद्यालय पुनर्निर्माण पछि धारापानी माविका विद्यार्थी फुरुंग : नयाँ भवनले बिर्सायो भूकम्प

गोरखा,असोज,१७-

४ वर्ष देखि त्रिपालले बारेको अस्थायी टहरामा पढ्दै आएका धारापानी मावि आरुबोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् ।बुधवार जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ६ करोड लागतको तीनतले १२ कोठे र दुई तले ४ कोठे गरी १६ कोठेनयाँ भवन विद्यालयलाई हस्तान्तरण गरेको हो ।

२०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवन भत्काएपछि विद्यार्थीहरु टिनले छाएको र त्रिपालले बारेको अस्थायी टहरामा पढ्दै आएका थिए ।अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु बुधवार नयाँ भवनमा पढ्न पाउने भएपछि फुरुंग बनेका छन् । विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्र विनम्र खनालले नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताए ।

छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको उनको भनाइ थियो ।यस्तै विद्यालयकी छात्रा सपना गुरुङले छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन् । पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे–गुरुङले भनिन्, अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन ।

कक्षा ५ की छात्रा अमृता विकले त्रिपालको छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टा छुट्टै कक्षामा पढ्न पाउने भएकामा खुसी लागेको बताइन् ।१८ महिनामा निर्माण हुने गरी गतर्ष असोज ५ गते जग खन्न शुरु भएको भवन १३ महिनामा नै पूर्ण भएको हो । एक भव्य कार्यक्रमका बीज असोज १५ गते बुधवार विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।

शुरुमा लुम्विनी खानीदेविका प्रतिनिधि एवं शोभित निर्माण सेवाका प्रोपाइटर बुद्धिप्रसाद श्रेष्ठले निर्माण गरिएको भवनको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्र र इञ्जिनियर बाबुराम देवकोटालाई हस्तान्तरण गरेका थिए ।लगत्तै मिश्रले सो भवन आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाललाई हस्तान्तरण गरेका थिए ।

दाहालले ८ नम्बरका वडाध्यक्ष मुरारी खनाललाई, खनालले विव्यस अध्यक्ष देवीदत्त खनाललाई र देविदत्त खनालले विद्यालयकी प्रधानाध्यापक शान्ता सापकोटा खनाललाई हस्तान्तरण गरेका थिए ।भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले इकाईले बनाइदिएको नयाँ भवनमा विद्यार्थी भर्ने र उनीहरुलाई गुणस्तरीय शिक्षा दिने जिम्मा गाउँपालिकाले लिने बताए ।

भौतिक पूर्वाधारको समस्या समाधान पछि अब विद्यालयलाई नमूना बनाउने दिशामा आफूहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो ।गाउँपालिकाबाट विद्यालयलाई सबैखाले सहयोग गर्न आफू तयार रहेको दाहालले बताए । स्थानीय अभिभावकहरुलाई सामुदायिक विद्यालयमै छोराछोरी पढ्न पाउन उनको आग्रह थियो ।यस्तै, विद्यालयलाई नयाँ भन हस्तान्तरण गर्दै आयोजना इकाई प्रमुख विष्णुप्रसाद मिश्रले भूकम्पले भवनसँगै भत्काएका विद्यार्थी, शिक्षक र अभिभावकका मनहरु भवनको पुनर्निर्माणसँगै पुनर्निर्माण हुने आशा व्यक्त गरे ।

अब नयाँ बनेको भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको भएको उनको भनाइ थियो । गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढीरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबैपक्ष एक भएर लाग्नुपर्ने औंल्याए ।विद्यालयकी प्रधानाध्यापक शान्ता सापकोटा खनालले नयाँ भवनले आफूहरुको भूकम्पको पीडा भुलाएको बताइन् ।भौतिक सुधारसँगै अब विद्यालयको पुरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने भन्दै प्रअ खनालले नयाँ भन जति सुन्दर छ अब त्यसमा शिक्षण सिकाइ पनि त्यति नै सुन्दर हुने प्रतिबद्धता जनाइन् ।

भूकम्प अगाडि साढे दुईसय बढी विद्यार्थी रहेको विद्यालयमा भूकम्पपछि बसाइसराई र अस्थायी टहराका कारण विद्यार्थी घटेर १७० मा पुगेका भन्दै प्रअ खनालले नयाँ भवनसँगै विद्यार्थीको संख्या बढ्ने अपेक्षा व्यक्त गरिन् ।भूकम्पले भवन ध्वस्त बनाएपछि विद्यालयले अर्कैको जग भाडामा लिएर अस्थायी टहरामा पठनपाठन गराउँदै आएको थियो । भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरेका थिए ।