शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित

केही जिल्लामा विद्यालय बन्द

कैलाली,पुस,३-

शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो।चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ ।

विशेषगरी कैलाली,कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सालगायतका जिल्लाहरुमा शीतलहरको असर बढी परेको छ ।शीतलहरका कारण अत्याधिक चिसो बढेपछि धनगढी उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आज र भोलि बन्द गर्ने निर्णय भएको छ ।

सबै सरोकारवालासँग धनगढी उपमहानगरपालिकाले छलफल गरेपछि उक्त निर्णय गरेको हो ।शनिबारको मौसमी अवस्था हेरेपछि थप के गर्ने भन्ने बिषयमा भने निर्णय लिइने उपमहानगरपालिकाका मेयर निर्प ओडले जानकारी दिनुभयो ।

यस्तै उता :भिमदत्त नगरपालिका कञ्चनपुरले पनि चिसोका कारण आज र भोलि बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।आज पनि तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाका मौसमविद् शान्ती कँडेलले आग्रह गरिन ।

शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ ।यता, हुस्सु लाग्न थालेपछि सर्लाहीसहित तराईका जिल्लाका किसान चिन्तित भएका छन् ।

हुस्सुले तोरी, गोलभेंडा, आलु, लहरी जस्ता बालीमा क्षति पुर्‍याउने भएपछि किसान चिन्तित भएका हुन् ।तोरी फूल्ने बेला हुस्सु लाग्न सुरु भएपछि लाइ/कीराको प्रकोप देखिने भन्दै ईश्वरपुर नगरपालिका–७ का किसानलाई चिन्ताले सताएको छ ।साभार ईमेजखबरबाट