‘ए’डिभिजन लिग फुटबलमा मनाङ विजयी:जावलाखेल र थ्री स्टारको बराबरी

काठमाण्डौं,पुस,२-

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ।बुधबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे ।मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो।विमलले जगजित श्रेष्ठको पासमा हेड गोल गरेका थिए।यस्तै विमलले ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए । उनले विदेशी खेलाडी कोएरा लार्बाले मिलाएको पासलाई सदुपयोग गरे ।खेलमा विमल म्यान अफ दि म्याच चुनिए ।जितसँगै मनाङले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस्तै उता : सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा पाएको अवसर खेर फाल्दा दुवै टोलीले एक एक अंकमा चित्त बुझाएको हो । बराबरीसंगै दुवै टोलीले लिगमा एक एक अंक पाएका छन् । 

यसैविच : गत शनीबारबाट सुरु भएको ‘ए’ डिभिजन लिग खेलमा मच्छिन्द्र क्लब, च्यासल युथ क्लब, त्रिभुवन आर्मी क्लव,न्युरोड टिम एनआरटी, विजयी भएका छन् भने पुलिसले शेर्पा क्लव संग गोलरहित बराबरी खेल्दै अंक बाडेको थियो । झण्डै ५ वर्षपछि दरशरथ रंगशालामा मुलुकको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता फर्कन लागेको हो ।