‘ए’डिभिजन लिग फुटबलमा एनआरटी विजयी : पुलिस र हिमालयन शेर्पाको बराबरी

काठमाण्डौं,पुस,१-

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै एनआरटीले विजयी सुरुवात  गरेको हो ।

 

एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । यस्तै जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।खेलको ४० औं मिनेटमा ओन्गुएने निकेन्ग्युले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।खेलको ८१ औं मिनेटमा सरोजले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा जोर्डनले गोल गर्दै एनआरटीलाई ४-० को जित दिलाएका थिए ।

जितसँगै एनआरटीले १ अंक जोडेको छ ।गत सिजन लिगको पुछारमा रहेको कारण एनआरटीको दुई अंक घटेको हो ।एन्फाले गत सिजन रेलिगेसनबिनाको लिग गरेको थियो । तर, यस सिजनको लागि पुछारको टिमको दुई र पुछारबाट दोस्रो स्थानको टिमको एक अंक घटाउने नियम बनाएको थियो ।

यस्तै उता : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पुलिसले शेर्पासँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । बराबरीसँगै दुवै टोलीले एक एक अंक जोडेको छ । 

यसैविच : गत शनीबारबाट सुरु भएको ‘ए’ डिभिजन लिग खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले हराउदै सुखद सुरुवात गरेको थियो,भने सोमबार भएका खेलहरुमा  च्यासल युथ क्लबले संकटा क्लबलाई २-० गोलले हराउदै विजय सुरुवात सुरुवात गरेको थियो,भने सोहि दिन भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लवले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको थियो । 

झण्डै ५ वर्षपछि दरशरथ रंगशालामा मुलुकको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता फर्कन लागेको हो ।