काँग्रेसमा भागबन्डाको विवाद कायमै महाधिवेशन अर्को वर्ष गर्ने सैद्धान्तिक सहमति

काठमाडौँ,पुस,१-

नेपाली काँग्रेसभित्र १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा बढेको मतान्तर अब सहमतिमै टुङ्ग्याउने गरी अगाडि बढेको छ । तर पनि संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० र ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ ।

संस्थापन पक्ष र अर्को पक्षबीच सोमबार भएको गहन छलफलपछि महाधिवेशनको कार्यतालिकासहित विभाग गठन गर्ने, नेपाल विद्यार्थी सङ्घ तथा नेपाल तरुण दलको कार्यसमिति बनाउन सहमतिमै टुङ्ग्याउने सैद्धान्तिक सहमति भएको छ । सहमतिको प्रयासकै लागि सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक यही पुस २ गतेसम्मका लागि स्थगित भएको छ ।

केन्द्रीय सदस्य बालकृष्ण खाँणले मङ्गलबार थप छलफल गरेर बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनसम्बन्धी आवश्यक निर्णय हुने बताउनुभयो । सभापति शेरबहादुर देउवाले सहमतिको वातावरण बनाउन उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिनुभएको छ ।

उपसभापति निधिले पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा गहन छलफल गर्नुभयो । द्विपक्षीय छलफलपछि उपसभापति निधिले सभापति देउवासँग छलफल गरेर निष्कर्षमा पुगौँ भन्नुभएको जानकारी केन्द्रीय सदस्य हृदयराम थानीले दिनुभयो । वरिष्ठ नेता पौडेलले सहमतिको वातावरण निर्माणका लागि नेताहरू प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीलाई जिम्मेवारी दिनुभएको छ ।

चाक्सीबारीको छलफलमा केही प्राविधिक विषयमा सहमति जुटाउन निरन्तर प्रयास जारी राख्दै आगामी केन्द्रीय समितिको बैठक बस्नुपूर्व नै ठोस समझदारी निर्माण गर्ने समझदारी भएको छ । सोही समझदारीअनुसार केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको हो ।
केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार बैठक बस्ने तयारीकै लागि सभापति देउवासहितका नेता पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको थियो ।

साथै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि केन्द्रीय कार्यालय जानुभएको थियो ।पौडेलपक्षीय नेताहरू भने उपस्थित हुनुभएन । उता उपसभापति निधिसँगको छलफलपछि वरिष्ठ नेता पौडेलको निवासमा महामन्त्री डा. शशाङ्क कोइरालासहितका नेताको बैठक बसेको थियो । सभापति देउवाले महìवपूर्ण विभागको प्रमुख आफैँले राख्ने, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिको नेतृत्वका विषयमा लिएको अडानले पौडेल समूह बढी सतर्क बनेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार पहिला संस्थापन पक्षले ६० र पौडेल समूहलाई ४० प्रतिशत गरी भागबन्डा गरेर पार्टीलाई एकढिक्का बनाउने पूर्वसहमति गरिएको थियो । तर अहिले आएर त्यसमा पछाडि हटेजस्तो देखिन्छ, त्यसरी सहमतिको वातावरण बन्न सक्दैन । संस्थापन पक्ष २०७७ सालमा १४औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक रूपमा तयार भए पनि विभाग र भ्रातृ संस्थाको गठनको विषयमा सहमति जुट्न बाँकी छ । पौडेल समूहको मुख्य माग १४औँ महाधिवेशनको कार्यतालिका आउनुपर्ने हो ।

गहिरो शोक प्रकट
यसैबीच काँग्रेसले धनुषा जिल्ला सवैला नपा–२ निवासी ८७ वर्षीय प्रजातन्त्र सेनानी बलराम नायक र भोजपुरका नेता चित्रबहादुर कार्कीको निधनमा गहिरो शोक प्रकट गरेको छ । साथै काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीकोे निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । साभार गोर्खापत्रबाट