स्पानिस सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाडौं,पुस,२८-स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । मड्रिड डर्बी फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ट्रफी उचालेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । जसमा रियल ४–१ ले विजयी भयो । अतिरिक्त समयको २५ औं मिनेटमा रियलका फेडेरिक भेलभर्डले रातो कार्ड पाएका थिए ।

साउदी अरेबियाको किङ् अब्दुल्लाह सिटीमा भएको फाइनलमा रियलका लागि पेनाल्टी सुटआउटमा डानी कार्भाहल, लुका मोडरिच, रोड्रिगो र कप्तान सर्गियो रामोसले गोल गरे ।

एट्लेटिकोका लागि तेस्रो नम्बरमा पेनाल्टी हानेका किरण ट्रिपिएरले मात्र गोल गरे। त्यसअघि पेनाल्टी प्रहार गरेका सउल निगेज र थोमसले गोल गर्न सकेनन् ।