प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं,माघ,२८-सरकारले प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

फाईल तस्विर

वर्तमान आइजीपी सर्वेन्द्र खनालले माघ २९ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि सरकारले ज्ञवालीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

आईजीपीका लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्याय पनि लाइनमा रहेका थिए । वरीयताक्रममा लम्साल दोस्रोमा र उपाध्याय तेस्रोमा रहेका थिए ।

२०२२ साल असारमा प्यूठानमा जन्मिएका ज्ञवाली वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालका ‘ब्याची’ हुन् भने ज्ञवालीको कार्यकाल पाँच महिना रहने छ ।

दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश नम्बर–१ को प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्यूरोमा काम गरिसकेका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए ।