जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,१२-प्रधानमन्त्री केपी ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताउनु भएको छ ।

सोमबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशमा २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताउनु भएको थियो ।

ओलीले क्वारेन्टीनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनालाई क्वारेन्टीइनका रुपमा विकास गरिने जानकारी दिनुभयो ।महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्दार गर्ने आश्वासन दिँदै विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको पनि बताउनुभयो ।

उहाॅंले छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभाव हुँदा महामारी तीब्र गतिमा बढेको बताउनुभयो । उहाॅंले स्वदेश फर्कनेको अनिवार्य परीक्षण गर्न पनि आग्रह गर्नु भएको थियो ।

अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने भन्दै उहाॅंले समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले उचित कदम चाल्ने बताउनुभयो ।उहाॅंले खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषिकार्य अघि बढाइने बताउनुभयो ।