आइसोलेसन वार्डमा शैया अभाव भएपछि अस्पतालले कोरोना संक्रमितलाई फिर्ता पठायो

कैलाली,जेष्ठ,२१-आइसोलेसन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको छ ।२४ शैयाको आइसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो ।

जिल्लाको गौरीगंगा नगरपालिकाको कालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका मेयर भीमवहादुर देउवाले जानकारी दिनुभयो ।पाँच जना नयाँ संक्रमितमध्ये दुई जनाको स्वास्थ्यमासमेत समस्या देखिएको छ ।

सेती प्रादेशिक अस्पतालले भर्ना नगरेपछि संक्रमित बिरामीलाई वडा नं. ४ को एउटा मन्दिरको हलमा राखिएको मेयर देउवाले बताउनुभयो ।यता अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले २४ शैयाको आइसोलेसनमा २५ जना संक्रमितलाई राखिएको बताउँदै थप संक्रमितको तत्काल व्यवस्थापन गर्न नसकिएको जानकारी दिनुभयो ।

यता सामाजिक विकास मन्त्रालयले भने संक्रमित बिरामीको व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लामा गठित कोरोना नियन्त्रण समितिको रहेको जनाएको छ ।