नेपालले बिश्वकप छनोटका खेलहरु दशरथ रंगशालामा असोजको अन्तिम साता खेल्ने

काठमाडौं,जेठ,२४-कोरोना भाइरसका कारण स्थगित भएका २०२२ फिफा बिश्वकप र २०२३ एएफसी एसियन कप अन्तर्गत बाकी रहेका घरलु खेलहरु नेपालले असोजको अन्तिम साता खेल्ने भएका छ ।

संयुक्त छनोटमा समुह बि मा रहेको नेपालले मार्चमा चाइनिज ताइपेइ र अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको थियो । दुवै खेलका लागि नेपालले एएफसीबाट स्विकृति पाएपनि कोरोना भाइरसका कारण बिश्वभर नै खेलकुद गतिविधि स्थगित भएपछि नेपालका खेलहरु पनि हुन सकेका थिएनन् ।

एसियन फुटबल कन्फेडेरेशनको शुक्रबार बसेको बैठकले नयाँ तालिका प्रस्ताव गर्दा नेपालको चाइनिज ताइपेइबिरुद्धको खेल असोज २२ र अष्ट्रेलियाबिरुद्धको खेल असोज २७ गते हुने भएको हो  । यस्तै जोर्डनबिरुद्धको अन्तिम होम म्याच कार्तिक २७ गतेका लागि प्रस्ताव गरिएको छ।  कोरोना भाइरसको महामारी कायमै रहे अथवा नेपालमा मात्रै यसको कारण खेल गराउन सम्भव नरहे एएफसीले कि त नयाँ मिति तय गरिनेछ वा अर्को बिकल्प खोज्न सक्नेछ ।

यो समुहमा रहेको अर्को टोली कुवेतबिरुद्धको घरेलु खेल दशरथ रँगशाला तयार हुन नसकेपछि भुटानमा खेलाइएको थियो जहा नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा ७–० को लज्जास्पद पराजय बेहोरेको थियो । नेपालले आफ्नो चार वटै खेलहरु खेलिसकेको छ ।

नेपालले समुहमा हात पारेको एक मात्र जितमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो र दुवै गोल अञ्जन बिष्टले गरेका थिए । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले नतिजा सुम्पियो भने जोर्डनसँग ३–० ले हारेको थियो । समुहमा अष्ट्रेलिया हालसम्म चार वटै खेल जित्दै १२ अंक साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल तीन अंकसाथ चौथोमा रहेको छ ।

समान पाँच खेल खेलेका कुवेत र जोर्डनको १० अंक रहेको छ । कुवेत गोल अन्तरको आधारमा अगाडी रहेको छ । ८ वटा समुह रहेको दोश्रो चरणको छनोटमा पहिलो हुने टोली एसिया कप खेल्नेछ । यस्तै समुह बिजेता र उपबिजेताहरु मध्येको उत्कृष्ट चार टोली बिश्वकप छनोटको तेश्रो चरणमा पनि प्रवेश गर्नेछ ।

नेपालको हकमा चौथो स्थानको उत्कृष्ट चार टोली भएको खण्डमा एसियन कपको तेश्रो चरणमा प्रवेश पाउनेछ । यसो गर्न नसके नेपालले प्लेअफ मार्फत तेश्रो चरणका लागि खेल्नु पर्ने हुन्छ । चाइनिज ताइपेइबिरुद्धको खेल नेपालका लागि दशरथ रँगशालामा पाँच बर्षमा पहिलो हुनेछ ।वईस्पोर्टबाट