प्रचण्ड-नेपाल पक्षको स्थायी र केन्द्रीय समिति बैठक बुधबार पेरिसडाँडामा बस्ने

काठमाडौं,फागुन,१७-प्रचण्ड-नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ।

सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले स्थायी केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बताउनुभयो ।

‘फागुन २१ गते बुधबार एकैदिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी र केन्द्रीय समिति बैठक बस्ने तय भएको छ’, रिजालले जानकारी दिनुभयो ।

बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

‘निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि अनुरोध गर्ने’प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै उहाँले सो निर्णय मान्य नहुने बताउनुभयो ।