राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं,फागुन,१७-राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गर्नु भएको छ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गर्नु भएको हो ।

सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपति कार्यालयले सोमबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस पत्र पेस भएको र सोही बमोजिम संसद् बैठक आह्वान गरिएको जनाएको छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/११/१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ।