आन्तरिक उडान असार १७ देखि थाल्ने सरकारको तयारी

काठमाडौं,जेठ,२५-सरकारले आन्तरिक हवाई उडान खुला गर्ने तयारी गरेको छ । बन्दाबन्दी लागू गरेको एक सय दिनपछि अर्थात् असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरणले आइतबार सरोकारवालाहरुसँग असार १७ गतेदेखि आन्तरिक उडान थाल्नेबारे छलफल गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच यसबारेमा छलफल भएको जनाइएको छ ।

पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको स्रोतको दावी छ । पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।

तेस्रो चरणमा भने साउनमै अन्तर्राष्ट्रिय उडान पनि शुरु गरिने छ । कोरोनाका कम प्रभावित सात मुलुकबाट शुरुमा अन्तर्राष्ट्रिय उडान थालिने जनाइएको छ ।

सरकारको औपचारिक निर्णय आएसँगै टिकट बुकिङ खुला गर्ने तयारीमा विमान कम्पनीहरु जुटेका छन् । सरकारले चैत ९ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो भने चैत ११ देखि आन्तरिक उडान पनि बन्द गरिएका थिए ।