‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं,बैशाख,४-नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि बसेको कर्णाली प्रदेश सभा एमाले संसदीय दलको बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उता कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोरक्रस गर्ने सांसदहरुले राजनीतिक अपराध गरेको आरोप लगाउनुभएको छ ।

उहाँले फ्लोर क्रस गर्नेहरु एमालेमा रहन नसक्ने भन्दै विधि प्रक्रिया पुर्‍याएर कारबाही गर्ने चेतावनी दिनुभयो ।

कँडेलले प्रतिपक्षी दलले सत्तापक्षलाई भोट हालेर इतिहासमा नहुने घटना भएको बताउनुभयो ।

उता मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने एमालेका सांसदले पार्टीका केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका छन् ।

सांसद प्रकाश ज्वालाले केन्द्रीय नेतृत्वको निर्देशनमै फ्लोर क्रस गरेकाले पार्टीले जे कारबाही गरेपनि आफुहरुलाई आपत्ति नभएको प्रतिक्रिया दिनुभयो ।

पार्टी कब्जा गर्ने र एकलौटी गर्ने प्रवृत्ति पराजित हुनुपर्छ भन्ने सन्देश दिन फ्लोर क्रस गरिएको उहाँको भनाइ थियो ।

ज्वालाले पार्टी एकतावद्ध नबनाएसम्म यस्तो समस्या अरु ठाउँमा पनि देखिने चेतावनी दिनुभयो ।