आज प्रजातन्त्र दिवस देशभर मनाईंदै, उपलब्धी संस्थागत हुन नसकेको गुनासो

काठमाडौं, फागुन ७ – आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।२००७ सालमा फागुन ७ कै दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र वहालीको घोषणा भएको थियो ।प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

यस अवसरमा टुंडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरिँदैछ । पहिलो पटक नेपाली धर्तीमा क्रान्तिको बिगूल फुकेर तात्कालीन योद्धाहरुले यो देशलाई जहानियाँ राणा शासनबाट मुक्त गराएका थिए ।यसक्रममा विक्रम सम्वत् १९९७ सालमा चार जना नेपाली सपूतलाई तात्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । २००७ सालको लडाईमा नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको थियो ।

नेपाली समाजमा सामाजिक र राजनीतिक चेतना फैलाउन प्रजा परिषदले शुरु गरेको अभियानमा क्रान्तिको नेतृत्व भने नेपाली कांग्रेसले गरेको थियो ।प्रजातन्त्रको विहानी ल्याउने उक्त क्रान्तिमा, राणाहरुको खोपीमा बन्दीसरह राखिएका राजा त्रिभुवनले साथ दिएपछि आन्दोलन उत्कर्षमा पुगेको थियो ।

कांग्रेसको आह्वानमा भएको क्रान्तिमा नेपाल कम्युनिष्ट पार्टीसहितका दलहरुको पनि साथ र सहयोग थियो ।फलस्वरुप पहिलो पटक जनप्रतिनिधिले देश सञ्चालन गर्ने अवसर पाए । यस दौरानमा मुलुकले थुप्रै घुम्ती र मोडहरु पार गरिसकेको छ ।

जनतासँग मिलेर ल्याएको प्रजातन्त्रको मान्यताभित्र बस्न नचाहँदा देशबाट राजसंस्थाको अन्त्य भइसकेको छ ।२०६२र०६३ मा भएको आन्दोलनको फलस्वरुप देशमा गणतन्त्र त आएको छ तर गणतन्त्रको आधारभूत मूल्य र मान्यतामा दलहरु टिक्न नसक्दा देश संक्रमणको जंजालबाट मुक्त हुन सकेको छैन ।
यसैविच
प्रजातन्त्र दिवस  नेपालगंजमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । स्थानीय विकास अधिकारी हरी प्याकुरेलका अनुसार आज बिहान अनौपचारिक कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाउन लागिएको छ ।