थ्री नेसन्स टी-ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको सानदार जित

फाईल तस्विर !!

काठमाण्डौं,बैशाख,४-नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा सुखद सुरुवात गरेको छ ।कुशल भुर्तेल र आसिफ शेखको डेब्यु अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा जितेको हो ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्दा कुशल र आसिफले  अर्धशतकीय इनिङ्स खेलेका हुन् ।

कुशलले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतमा डेब्यु अर्धशतक पूरा गरे । आसिफले ३६ बलमा समान ५-५ चौका र छक्काको मद्दतमा डेब्यु अर्धशतक पूरा गरे ।

यसअघि यूएईविरुद्ध टी–ट्वान्टी सिरिजको पहिलो खेलमा सन्दीप जोराले डेब्यु अर्धशतक बनाएका थिए । उनले यूएईविरुद्ध ४६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय इनिङस खेलेका थिए ।

 

नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । पहिलो विकेटको रुपमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको साझेदारी गरे ।

कुशल र आसिफले गरेको १ सय १६ रनको साझेदारी टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक साझेदारी समेत हो । १३ औं सागमा टियू मैदानमा भुटानविरुद्ध भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले पहिलो विकेटका लागि १ सय ८ रनको साझेदारी गरेका थिए ।

 

कुशलले ६२ रनको योगदान दिए । उनले ४६ बलमा समान ५–५ चौका र छक्का प्रहार गर्दै ६२ रन बनाए । कुशल जुलियन डे मेको गरेको १३ औं ओभरको चौथो बलमा लामो सट खेल्ने चक्करमा पिटर सिलरको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए ।

त्यस्तै आसिफ ५४ रनमा अविजित रहे । उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा एक छक्काको मद्दतमा १३ रन जोड्दै अविजित रहे । नेदरल्यान्ड्सका लागि जुलियन डे मेले मात्र एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो ।

टिमको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए । उनले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लु आउट गरेका हुन् । म्याक्सले ११ बलमा दुई चौका सहित १० रनको योगदान दिए ।

त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो । आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए ।

 

त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँगै मिलेर नेदरल्यान्ड्सको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । उनले इड्वार्डसँग ६१ रनको साझेदारी गरे ।

तर, १४ औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने चक्करमा इड्वार्ड नेदरल्यान्ड्सको तेस्रो विकेटको रुपमा पेभिलियन फर्किए । ३० रनमा खेलिरहेका इड्वार्ड शाहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका हुन् । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

यता इड्वार्डको विकेट लिएका शाहबको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत हो । चौथो विकेटको रुपमा नेदरल्यान्ड्सले सर्वाधिक रन बनाएका बास डे लीडेलाई गुमायो । उनी १७ औं ओभरको अन्तिम बलमा ४१ रनमा पेभिलियन फर्किए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्दीपको स्पेलको चौथो ओभरको अन्तिम बलमा कुशल भुर्तेलले क्याच गर्दै बासलाई मैदान बाहिर पठाएका थिए ।

कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । त्यस्तै स्टलले ९ बलमा २ चौका र १ छक्का सहित २० रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चेर २ विकेट लिएका हुन् ।

 

त्यस्तै सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए । शाहब सबैभन्दा महंगा खेलाडी सावित भए । उनले चार ओभर बलिङ गर्दै ४५ रन खर्चेर एक विकेट लिएका थिए ।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।