धम्कीको भाषा नबोल्नुस्,आँशु चुहाउने पनि नहोलान्ने-नेता योगेश भट्टराई

फाईल तस्विर !!

काठमाडौं,चैत्र,३-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न आग्रह गर्नुभएको छ ।

बिहीबार र शुक्रबार माधवकुमार नेपाल पक्षले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले धम्कीको भाषाले आफैँलाई सिध्याउने भन्दै त्यस्ता भाषा नबोल्न आग्रह गर्नुभयो ।

भट्टराईले अहिलेको अवस्थामा विवेकसंगत ढंगले अघि बढ्नुपर्ने बेला भएकाले आवेग र उत्तेजनानमा नआउन प्रधानमन्त्रीलाई आग्रह गर्दै त्यस्ता अभिव्यक्तिले दुर्घटना निम्तनेतर्फ सचेत रहन समेत सजग गराउनुभयो ।

कारबाहीले मुलुक, राजनीति र पार्टी अघि नबढ्ने बताउँदै भट्टराईले मुलुक, संविधान र प्राप्त गरेको जनसमर्थको लागि उभिएकाहरू कारबाहीको लागि लामबद्ध भएको उल्लेख गर्नुभयो । ‘कारबाहीले मुलुक, राजनीति र पार्टी अघि बढ्दैन,’ उहाँले भन्नुभयो, ‘कारबाही गर्छु भन्नु अहंकारपूर्ण अभिव्यक्ति हो, हामीलाई कुनै दुःख छैन, हामी एकपछि अर्को कारबाहीको भोग्न लामबद्ध छौं ।’

इतिहासको कठघरामा उभिएर प्रश्नको उत्तर दिन नसक्दा ओलीलाई इतिहासले सबैभन्दा कठोर कारबाही गर्ने भट्टराईको भनाइ छ । ‘तपाईं इतिहासको कठघरामा उभिनुभएको छ, तपाईंले धेरै प्रश्नहरूको उत्तर दिनुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘इतिहासले सोधेका प्रश्नको उत्तर दिने ठाउँमा बस्दा इतिहासले तपाईंलाई कठोर कारबाही गर्छ ।’

भट्टराईले अगाडि भन्नुभयो, ‘सायद त्यो बेला तपाईंको लागि दुई थोपा आँशु चुहाउने व्यक्ति पनि नहुन सक्लान् । त्यो दुखान्त स्थिति पनि आउन सक्ला त्यसैले धम्कीका भाषा नबोलौं संयमताका साथ अघि बढौं ।’

एकपटक इतिहासमा फर्कन अनुरोध गर्दै भट्टराईले ओलीकै कारण पार्टी लथालिङ्ग नहोस् भन्ने आफूहरूको चाहना रहेको बताउनुभयो । पार्टीको इतिहासलाई कसैले पनि बिर्सन नहुने भट्टराईको भनाइ छ ।