एमसीसी परियोजना अनुमोदन गर्नेबारे नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं,जेठ,२६-सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो ।एक वर्ष अघिकै वर्षे अधिवेशनमा संसदबाट अनुमोदन गर्ने लक्ष्य राखिएको एमसीसीबारे सत्तारुढ दलभित्र विवाद देखिएपछि गत हिउँदे अधिवेशनमा पनि पारित हुन सकेन ।

गत माघमा एमसीसीबारे अध्ययन गर्न नेकपाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठन गरेको भीम रावल र प्रदीप ज्ञवाली संलग्न कार्यदलले यस अघि नै प्रतिवेदन दिइसकेको छ ।कार्यदलले यथास्थितिमा अनुमोदन गर्न नहुने गरी प्रतिवेदन दिएपनि सदस्य ज्ञवालीले फरक मत राखेका छन् । गत हप्ता समेत यसबारे छलफल भएको थियो ।नेपालमा ऊर्जा र सडक परियोजना अघि बढाउनका लागि अमेरिकी सरकारले ५५ अर्ब बराबरको अनुदान दिने निर्णय अनुसारको एउटा सर्त संसदबाट अनुमोदन समेत छ ।

करिब ३१२ किलोमिटरको प्रसारण लाइनको ठूलो सञ्जाल तथा १ सय किलोमिटर सडकको आधुनिक प्रविधिको मेशिनद्वारा मर्मत सम्भार गरिने सो परियोजनाले यस अघिनै असार १६ गतेदेखि निर्माण सुरु गर्ने घोषणा गरेपनि संसदबाट अनुमोदन नगर्दा अन्योल देखिएको छ ।परियोजना अघि बढाउन झण्डै साढे दुई वर्षअघि तत्कालीन शेरबहादुर देउवा सरकारले मिलिनियम च्यालेन्ज कम्प्याक्टमा हस्ताक्षर गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालकै कानुन अन्तर्गत विकास समिति अन्र्तगत अर्थसचिवको संयोजकत्वमा मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) गठनदेखि आर्थिक रूपमा परियोजनायोग्य बनाउन राखिएको बुटवल–गोरखपुरको अन्तरदेशीय प्रसारण लाइनको मोडालिटी, आयोजना कार्यान्वयन सम्झौतालगायत सम्पन्न भइसकेका छन् ।सन् २०११ देखि प्रक्रिया सुरु गरेर प्रतिस्पर्धामार्फत सन् २०१५ मा नेपालले सो परियोजना पाएको थियो ।