बामदेवले ल्याए ओलीको दुबै पद जोगाउने गरी ६ बुँदे प्रस्ताव, सहमतिमा एकता महाधिवेशन !

फाईल तस्विर !

काठमाडौं,साउन,१३-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्न आग्रह गर्नुभएको छ ।

मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म पार्टी अध्यक्ष र वाँकी अवधीभरका लागि प्रधानमन्त्रीकै जिम्मेवारीमा रहन भन्नुभएको छ ।

साथै उहाँले महाधिवेशनसम्म पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी प्रदान गर्न पनि प्रस्ताव गर्नुभएको छ ।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमले सुझाव दिनुभएको छ ।

मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएलगत्तै गौतमले ६ बुँदे सुझावसहितको प्रस्ताव सार्वजनिक गर्नुभएको हो ।

उहाँले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव राख्दै पार्टीका आगामी बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा नगर्न पनि सुझाव दिनुभएको छ ।

६ बुँदे प्रस्तावलाई हेर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीतिर ढल्किएको प्रष्ट हुन्छ ।