नेकपामा कार्यदलबारे नयाँ विवाद

फाईल तस्विर !!

काठमाडौं,साउन,३१-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ ।

शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे छलफल भएको हो ।

प्र्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदललाई छिटोभन्दा छिटो पार्टीभित्रको समस्या समाधानका लागि प्रस्ताव तयार पार्न निर्देशन दिइएको छ ।

अर्को विवाद
यसैबीच, नेकपामा अध्यक्षद्वयबीचको सहमतिमा गठन गरिएको कार्यदलबारे नयाँ विवाद देखापरेको छ ।

अध्यक्षद्वय ओली र दाहालले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गर्न किन आवश्यक परेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन् ।

शनिबार बिहान पार्टी अध्यक्ष दाहालको निवासमा चारजना नेताको बैठकमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक डाक्नसमेत माग गर्नुभएको छ ।

पार्टी कमिटीको बैठक चलिरहेका बेला कार्यदलको आवश्यकता किन पर्‍यो ? कार्यदल नै बनाउने हो भने ठूलो दायरामा छलफल किन गरिएन ? भन्ने प्रश्न उठेको हो ।

कार्यदल बनिसकेको अवस्थामा अब सचिवालय बैठक बोलाएर त्यसले कार्यादेश दिन नेताहरुले सचिवालय बैठक माग गरेको बताइएको छ ।ईमेजबाट