रोनाल्डोले गरे राष्ट्रिय टिमबाट १०० गोलको कीर्तिमान

फाईल तस्विर !!

एजेन्सी,भदौ,२४-क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ ।

मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २-० ले हराएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो गोलसंगै रोनाल्डोले पोर्चुगलको जर्सीमा सय गोल पुरा गरेका थिए ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुर्याएका छन् ।

उनी राष्ट्रिय टिमबाट सय गोल पुरा गर्ने पहिलो युरोपेली फुटबलर बने । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् ।

अन्तराष्ट्रिय फुटबलमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लियोनल मेस्सीले ७० गोल गरेका छन् ।

गुस्ताव स्वेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली स्विडन पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको थियो । घरेलु मैदानमा पोर्चुगलबिरुद्ध स्विडेनले खासै प्रभाव जमाउन सकेन ।

पछिल्लो नतिजासंगै पोर्चुगलले नेसन्स लिग फुटबलको सुरुवाती दुवै खेलमा जित निकालेको छ ।

पछिल्लो हप्ता रोनाल्डो बिनाको पोर्चुगलले क्रोएसियामाथि ४–१ को शानदार जित निकालेको थियो । पोर्चुगल नेसन्स लिग फुटबलको उपाधि रक्षा गर्ने अभियानमा अग्रसर देखिएको छ । गत बर्ष नेदरल्याण्ड्सलाई १–० ले हराउँदै पोर्चुगलले उपाधि जितेको थियो ।

१९ बर्षको उमेरमा रोनाल्डोले सन् २००४ को युरो कपमा पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए ।