नेसन्स लिग फुटबलमा: क्रोएसियामाथि फ्रान्सको जित

फाईल तस्विर !!

एजेन्सी,भदौ,२४-नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि ४-२ को जित आत्मसाथ गरेको छ ।ओलिभर जिराउडले करियरको ४० औं अन्तराष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो ।

सन् २०१८ को विश्वकपमा दुवै टिम फाईनलमा भिडेका थिए ।३३ बर्षका जिराउडले बेन्चबाट मैदान छिर्दै पेनाल्टीमा करियरको ४० औं गोल पुरा गरेका हुन् । उनी फ्रान्सेली लिजेन्ड मिचेल प्याटिनी भन्दा एक गोलले पछि रहेका छन् । आर्सनलका लिजेण्ड थिएरी हेनरीले फ्रान्सबाट सर्वाधिक ५१ गोल गरेका छन् ।

लिभरपुलका डिफेन्डर डिजन लव्रेनको गोलमा क्रोएसियाले खेलमा अग्रता लिएको थियो । तर विश्व विजेता फ्रान्स खेलमा बलियो देखियो । ४३ औं मिनेटमा एन्थोनी मार्टियलको पासलाई सदुपयोग गर्दै एन्टोनी ग्रिजम्यानले फ्रान्सका लागि बराबरी गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाका डोमिनिक लिवाकोविकको आत्मघाति गोल गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । तर ५५ औं मिनेटमा जोसिप ब्रेकालोले क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

६५ औं मिनेटमा डायोट उपमाकोनोले फ्रान्सलाई ३-२ को अग्रता दिलाए । ओलिभर जिराउडले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको ४-२ को जित सुनिश्चित गरे ।

समूह तीनकाे अर्को खेलमा पोर्चुगलले स्विडेनलाई ४-० ले हरायो र तालिकाको शीर्ष स्थानमा उक्लियो । पोर्चुगल र फ्रान्सले समान ६ अंक जोडेका छन् । स्विडेन र क्रोएसिया अंक विहिन भएका छन् ।