अन्तत:प्रधानमन्त्री पुगे मन्त्रिमण्डल पुनर्गठन हेरफेरमा

ढुकुटीको साँचो हत्याउन नेकपामा हानाथाप

काठमाडौं,भदौं,२५-प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्षपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने हुनुभएको छ ।

सत्ता सञ्चालन गरेको दुई वर्ष पुगेलगत्तैदेखि पार्टीभित्रैबाट अनेकन अफ्ठ्याराको सामना गर्नुभएका ओलीले अन्ततः मन्त्रिमण्डल पुनर्गठन गरेर असन्तुष्टहरुको मुख बुझो लगाउने रणनीति लिनुभएको हो ।

दुई तिहाईनिकटको सरकार चलाउँदा पनि जनमानसमा अनुभूत हुने खालको खासै काम गर्न नसक्नु भएका ओलीले राज्यका सबै अवयवमा एकलौटी गर्न खोजेपछि झण्डै पद नै गुमाउनु परेको थियो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले प्रधानमन्त्री र अध्यक्ष पद दुबै त्याग्न दबाब दिएपछि ओली आफ्नो पद जोगाउँदै केही मन्त्री र मुख्यमन्त्रीहरु परिवर्तन गर्न सहमत हुनु भएको हो ।

मन्त्रिमण्डल पुनर्गठन हुँदा मुख्य गरी मुलुकको ढुकुटी सञ्चालन गर्ने अर्थ मन्त्रीको जिम्मेवारी कसले पाउँला भन्ने चासो सर्वत्र छ ।

ओलीले आफ्ना निकै विश्वासपात्र डा. युवराज खतिवडालाई राष्ट्रिय सभा सांसदमा निरन्तरता दिलाउन नसक्दा उहाँले राजीनामा दिनु परेको थियो ।

रिक्त अर्थ मन्त्री बन्न पार्टीका निकै नेताले आँखा लगाएका छन् । मुख्य गरी पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र वर्षमान पुनलाई सम्भावित अर्थमन्त्रीका रुपमा हेरिएको छ ।

तर पौडेलले सरकारभन्दा पार्टीको काममै रहने बताएको, पाण्डे नेपाल समूहका भएकाले विश्वास गरिहाल्न नसक्ने अवस्था भएको र पुन पनि पूर्वमाओवदाी खेमाका भएकाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा गराई अर्थ सुम्पने चाहना ओलीको भएको उहाँनिकट स्रोतले जनाएको छ ।

तर हालै राष्ट्रिय सभा सदस्य बनाउन पार्टीले सिफारिश गरेका नेता वामदेव गौतमले पनि अर्थ मन्त्रालय आफूले पाउनु पर्ने भन्दै ओलीसँग बार्गेनिङ गरिरहनु भएकाले अन्तिममा राष्ट्रको ढुकुटीको साँचो कस्ले सम्हाल्ला भन्ने अझै प्रष्टिसकेको छैन ।

यस पटक केही नयाँ मन्त्री थपिनुका साथै केहीको मन्त्रालय अदलबदल हुने पनि जनाइएको छ । नयाँ मन्त्री थपिनेमा नेताहरु वामदेव गौतम, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा, पम्फा भुषाललगायत हुनसक्ने जनाइएको छ ।

वर्षमान पुन, प्रदीप ज्ञवालीलगायत मन्त्रीको भने जिम्मेवारी हेरफेर हुनसक्ने बालुवाटार स्रोतले जनाएको छ ।