सरकारको काम प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालयको निर्णय

फाईल तस्विर !!

काठमाडौं,असोज,६-सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जतिसक्दो छिटो मन्त्रिमण्डल पुनर्गठन गरी सरकारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने स्थायी समितिको सर्वसम्मत निर्णय अनुसार नै सचिवालयले पनि निर्णय गरेको बताउनुभयो।

‘मन्त्रिमण्डल पुनर्गठनबारे मुख्यतः प्रधानमन्त्रीले सोँच्नुपर्छ। यसबारे स्थायी समितिको सर्वसम्मत् निर्णय र अहिले सचिवालयको निर्णय पनि के हो भने सरकारको काम अझ व्यवस्थित र प्रभावकारी बनाउन छिटो भन्दा छिटो सरकार पुनर्गठन गर्नुपर्छ भन्ने हो।’

साे बैठकमा संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे पनि छलफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका बारेमा छलफल भएको थियो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक परिषद्को बैठक राखेर आयोग पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिनुका साथै साे प्रक्रियामा सहभागि हुन सम्बन्धित पक्षलाई अनुराेध समेत गरेको बताउनुभयो ।