प्रचण्ड-माधव समूहका विद्यार्थीले गरे आन्दोलनको कार्यक्रम घोषणा

फाईल तस्विर !!

काठमाडौं,पुस,२१-प्रचण्ड-माधव समूहका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै अनेरास्ववियुले आज प्रेस विज्ञप्ति जारी गरेर आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।

‘संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चँदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने र धरपकड गर्ने कायरता पूर्ण कार्य नगर्न चेतावनी दिन चाहन्छौं,’विज्ञप्तिमा भनिएको छ,‘यदि नागरिकको वाक स्वतन्त्रता र मौलिक हकलाई सत्ताको बुटले कुल्चने धृष्टता गरेमा त्यसको सशक्त प्रतिरोध गर्न वाध्य हुनेछौं। असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउँदा सम्म हाम्रो संघर्ष अझ सशक्त रुपमा अघि बढ्नेछ।’

दोस्रो चरणको संघर्ष कार्यक्रम अनुसार पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, पौष २१ गते प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा हुने छ। त्यस्तै,पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन र लाठी जुलुस, पौष २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, पौष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना राख्ने लगायत कार्यक्रम रहेको छ।  

शैक्षिक संघर्ष अन्तर्गत शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने,कक्षा–११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवाबमुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ।