बेलायतमा कोरोनाका कारण एकैदिन १६ सय ३१ जनाको मृत्यु

फाईल तस्विर !!

काठमाडौं,माघ,१४-बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो ।

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बीबीसीले जनाएको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।

पछिल्लो २४ घन्टामा २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ । पछिल्ला दिनमा बेलायतमा नयाँ संक्रमितको संख्यामा कमी हुँदै गएको त्यहाँको सरकारले जनाएको छ ।

यसअघि तीन हप्ता भन्दा बढी दैनिक ४० हजार भन्दा बढी संक्रमित हुने गरेको समाचार सार्वजनिक भएपनि पछिल्लो पटक सार्वजनिक तथ्यांक अनुसार संक्रमित संख्या बीस हजारमा झरेको छ । बेलायतका अस्पतालहरुमा हाल ३७ हजार भन्दा बढी संक्रमित भर्ना भएका छन् भने चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

यसैबीच प्रधानमन्त्री बोरिस जोनसनले सरकारले जारी गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ ।उहाँले स्वास्थ्यको मापदण्ड पालना गरेर महामारी नियन्त्रणमा सहयोग गर्न अपीलसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री जोनसनेल कोरोनाविरुद्धको भ्याक्सिनको सहज उपलब्धताका लागि सरकार लागिपरेकोसमेत जानकारी दिनुभएको छ । एजेन्सी