प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्दाको सुनुवाइ एकै बेन्चमा आज

काठमाडौं,माघ,१५-अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ आज हुने भएको छ।

अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधि सभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै परेका रिटको आज एउटै बेन्चमा सुनुवाइ तोकिएको छ।

यी सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ हुने भएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका हुन्।

यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्व प्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अवहेलान मुद्दा दायर गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलाना मुद्दा दर्ता भएको हो।