विश्वकप र एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध नेपालको खेल अन्योलमा

फाईल तस्विर !!

काठमाडौं,फागुन,१८-फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्ने भनिएको खेल अन्योलमा परेको छ ।

छनोट अन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा मार्च ३० (चैत १७) गते खेल्ने तालिका रहेको छ ।

 

तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण स्थगित भएको छनोटको बाँकी खेल एकै भेन्युमा गर्ने तयारी गरेपछि नेपालमा तय भएको खेल अन्योलमा परेको हो ।

एन्फा स्रोतका अनुसार एएफसीले छनोट अन्तर्गत समूह ‘बी’ का बाँकी खेलहरु एकै भेन्युमा गराउन छनोट खेलिरहेका राष्ट्रलाई दरखास्त दिन भनेको छ ।जस अन्तर्गत अष्ट्रेलिया, नेपाल र जोर्डनले आयोजनाका लागि प्रस्ताव पेश गरेको छ ।

यदि तीनै राष्ट्रमा नभएको खण्डमा न्युट्रल भेन्युको रुपमा मलेसियामा बाँकी खेलहरु गराउने एएफसीको तयारी रहेको एन्फा स्रोतले जनाएको छ ।तर, बाँकी खेलहरु अष्ट्रेलियामा हुने सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।

फिफा र एएफसीको मापदण्ड पूरा भएका भौतिक पूर्वाधार धेरै भएको र एकै पटक धेरै खेलहरु गराउन सकिने हुँदा एएफसीले अष्ट्रेलिया रोज्न सक्ने एन्फा स्रोतले जनाएको छ ।एएफसीले खेल स्थगित नगरेको खण्डमा अष्ट्रेलियाका टिम मार्च २५ मा नेपाल आईपुग्ने छन् ।

अष्ट्रेलियाको टिम सोल्टी होटलमा बस्ने छन् ।एन्फाले अष्ट्रेलियाको टिमलाई प्रशिक्षण गर्न चोभारमा रहेको इन्डियन मोर्डन स्कुलको मैदान छुट्टाएको छ ।

छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ ।नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।एएफसीले नेपाल र ताइपेबीचको खेल यस अघि नै स्थगित गरिसकेको छ ।

समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।स्रोत: खेलपाटी