वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटी पुगे

फाईल तस्विरमा : प्रधानमन्त्री ओली र वामदेव गौतमबिच छलफल चल्दै !

काठमाडौं,फागुन,२१-विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुग्नु भएको छ।

गौतमलाई भेट्न ओली शुक्रबार बेलुकी गौतम निवास भैंसेपार्टी पुग्नु भएको हो। प्रचण्ड-माधव समूहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगमा ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने गौतम घरभित्रै लडेर सामान्य चोपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्न गएको जानकारी दिनुभयो। शुक्रबारमात्रै प्रचण्ड-माधव पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको छ।

गौतमले यसबीचमा बालुवाटारमै पुगेर ओलीलाई भेट्नु भएको थियो।ओली केही महिना अघि पनि सपरिवार गौतम निवास पुग्नु भएको थियो।ओलीसँगै शुवास नेम्वाङ, शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलगायत नेताहरू गौतम निवास पुगेका छन्।