जापानको टोकियोमा संकटकालको अवधि पुन: लम्बियो

जापान,फाल्गुन,२२-जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको छ । 

प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रवार घोषणा गर्नुभएको हो । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उहाँको भनाइ छ । 

संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिनुभयो । राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उहाँले बताउनुभयो । 

कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उहाँले संकटकाल लम्ब्याउने निर्णय गर्नु भएको हो । 

प्रधानमन्त्री सुगाले संकटकालको म्याद अहिले दोस्रो पटक थप गर्नुभएको हो । उहाँले गत जनवरीमा संकटकालको घोषणा गर्नु भएको थियो। 

उहाँले कारोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सबैलाई आह्वान गर्नु भएको छ।

स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए ।  

संकटकाल लागू गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् । बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ । 

जापानको राजधानी टोकियोमा मात्रै शुक्रवार पनि थप ३०१ जना संक्रमित भएका छन् । योसँगै टोकियोमा मात्रै कुल संक्रमितको संख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसका कारण जापानमा हालसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ । ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । रासस