फेरि पनि संसद विघटन हुनसक्छ : प्रधानमन्त्री ओली

सर्वदलीय बैठककाे छलफल राष्ट्रपतिको बंगलादेश भ्रमणमै सीमित

फाईल तस्विर !!

काठमाडौं,चैत,३-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद चल्ने अवस्था नभए फेरि पनि संसद विघटन हुने चेतावनी दिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन पनि सही भएको भन्दै अब पनि सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभए विघटन गरेर चुनावमा जानुको विकल्प नरहने बताउनु भएको हो ।

वैठकमा सहभागी नेताहरुका अनुसार सरकार र संसद् चल्ने अवस्था नरहेपछि आफूले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेको जिकीर प्रधानमन्त्री ओलीको थियो ।संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्दै उहाँले सरकार र संसद नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो ।प्रधानमन्त्री ओलीले निर्वाचन घोषणालाई प्रतिगमन भनेकोमा पनि असन्तुष्टि ब्यक्त गर्नुभएको जनाइएको छ ।

यसैबिच:राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको छ।बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयो, ‘बंगलादेशको भ्रमण रहेछ। त्यही बिषयमा छलफल गर्नका साथै चियापानका लागि बोलाउनुभएको रहेछ।’ उहाले बैठकमा समसामयिक बिषयमा कुराकानीसमेत भएको बताउनुभयो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष, कांग्रेस नेता विमलेन्द्र निधि र जनमोर्चा अध्यक्ष केसीलगायतका नेताहरुले आआफ्नो धारणा राखेका थिए। 

उहाले बैठकमा माओवादी अध्यक्ष प्रचण्डले समसामयिक बिषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। यस्तै, जनमोर्चा अध्यक्ष केसीले राष्ट्रपति र प्रधानमन्त्रीको कारणले अहिलेको समस्या आएको बताउनुभयो।‘तपाईं जिम्मेवार ठाउँमा बसेको मान्छेले विचार गर्नुपर्थ्यो। तपाईंहरुको कारणले यो अवस्था आयो’ उहाले भन्नुभयो, ‘जनताले ५ बर्षमा लागि पठाएपछि हामीले जनमतको कदर गर्नुपर्छ।’ ‘अहिले चुनाव र ताजा जनादेशमा जाने बेला छैन। त्यसैको कारणले अहिले गणतन्त्रमा कालो बादल मडारिरहेको छ’ उहाले भन्नुभयो। 

यस्तै:राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको भन्दै सरकारकाले गरेको सिफारिस कार्यान्वयन मात्रै गरेको र आफ्नो निर्णयबाट कुनै काम नगरेको बताउनु भएको थियो ।

वैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलका नेताहरु सहभागी थिए ।पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराइ भने वैठकमा गएनन् ।

राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारीको दुई दिवसीय भ्रमण तय भएको हो।