समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिदैछ- प्रधानमन्त्री ओली

काठमाडौं,फागुन,७-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने काममा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज (बुधबार) सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैको सहयोगबाट मात्र सरकारको समृद्धिको लक्ष्य पूरा हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो  ।

उहाँले सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको आरोपसमेत लगाउनुभयो ।समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्न, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेको भन्दै सरकार सबै चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताउनुभयो ।उहाँले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य रहेको प्रष्ट पार्नुभयो ।

उहाँले नेपालतर्फ विश्वजगतको ध्यानाकर्षण हुन थालेको भन्दै नेपालको गरिमा बढ्ने काममा जुटन आग्रह पनि गर्नुभयो। प्रधानमन्त्रीले प्रजातन्त्र दिवसलाई औपचारिक रुपमा मात्र नभई जनस्तरसम्म मनाउनको लागि आग्रह पनि गर्नुभयो।प्रधानमन्त्री ओलीले मुलकमा द्वन्द्व व्यवस्थापन भइसकेको भन्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा मुलुकको ध्यान केन्द्रीत भएको बताउनुभयो  ।

मुलुक बदलिएको प्रणालीको अभ्यासमा रहेकाले केही अलमल भएको भन्दै सरकार संविधान अनुसार नै अगाडि बढ्ने पनि बताउनुभयो  ।प्रधानमन्त्रीले गरिबी, पछौटेपन र रोग मुलुकको शत्रु भएकाले यसको अन्त्यका लागि सरकार योजनावद्ध रुपमा अगाडि बढेको बताउनुभयो।कार्यक्रममा प्रजातन्त्र दिवस अंकित झण्डासहितको नेपाली सेनाको हेलीकोप्टरबाट पुष्पवृष्टि गरीएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।

त्यसैगरी महानगरपालिका, उपमहानगपालिकाहरुले आ–आफ्नो साँस्कृतिक कला र नृत्य प्रर्दशन गरेका थिए  ।प्रजातन्त्र दिवसमा राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनालगायत संवेधानिक निकायका प्रमुखहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो । ईमेजखबरबाट