जापानमा कामदारहरुलाई ७० वर्षसम्म काममा राख्ने कानून लागू

फाईल तस्विर !!

जापान,चैत,२०-जापानमा कर्मचारीहरुलाई ७० वर्षको उमेरसम्मै काममा राख्न कम्पनीहरुले कोशिश गर्नु पर्ने नयाँ कानून लागू भएको छ । 

हालसम्म कर्मचारीहरुले काम गर्न चाहनेमा कम्पनीहरुले ६५ वर्षको उमेरसम्म उनीहरुलाई काममा राख्नु पर्ने व्यवस्था थियो । तर बिहीवारदेखि संसोधित कानून लागू भएपछि कम्पनीहरुसमक्ष बुढा कामदारहरुलाई काममा राखिराख्न पाँच विकल्प रहेको छ । 

पहिलो विकल्पमा कर्मचारीको सेवानिवृत्तिको उमेर बढाएर ७० वर्षमा पुर्‍याउने सकिनेछ । दोस्रोमा यसलाई स्पष्ट रुपमा खारेज गर्ने, तेस्रोमा उमेर सीमा कटेपछि पनि कामदारहरुलाई काम गर्ने अनुमति दिने विकल्प छ । 

चौंथो विकल्प कम्पनीहरुले सेवा निवृत्त भएका कार्मचारीहरुबाट काम आउटसोर्स गराउन सक्नेछन् । गैरनाफामुलक वा सार्वजनिक लाभ उपलब्ध गराउने अन्य संस्थामा जाने कर्मचारीहरुलाई टेवा दिन सक्ने चाँहि पाँचौं विकल्पको रुपमा रहेको छ ।

यी विकल्पहरुको चयन कम्पनी र कर्मचारीले आपसी सगर्न सक्नेछन् ।तर अन्तिममा दुई विकल्प प्रयोग गर्दा भने कम्पनीहरुले श्रम संगठनबाट अनुमति दिनु पर्नेछ । यस कानूनले जापानको श्रम बजारमा देखिएको अभाव केही भएपनि कम गर्ने अपेक्षा गरिएको छ । 

जापानको आन्तरिक मामिला मन्त्रालयले गरेको एक सर्वेक्षणअनुसार गतवर्ष जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका ९० लाख ६० हजार कर्मचारी कार्यरत थिए । यो जापानको समग्र कार्यबलको १३ दशमलव ६ प्रतिशत भएको बताइएको छ ।