सुदूरपश्चिममा एकै दिन १२ जना संक्रमितको मृत्यु

फाईल तस्विर !!

कैलाली,बैशाख,२३-कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी एकै दिन १२ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै दोधारचाँदनी नगरपालिका–१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताउनुभयो ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली र बझाङका थप चार जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका– ४ का ८१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–६ की ५८ वर्षीया महिला, कैलालीकै जोशीपुर गाउँपालिकाका ६० वर्षीया महिला र बझाङको दुर्गाथलीकी ८२ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।