प्रधानमन्त्रीमा ओली र देउवाको दावी,राष्ट्रपति भण्डारीको काँधमा निर्णय गर्ने जिम्मा

फाईल तस्विर !!

काठमाडौं,जेठ,७-संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा बहालवाला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ ।

ओली र देउवा दुबै जनाले आफ्ना पक्षमा बहुमत सांसद रहेको जिकीर गर्नुभएको छ।रमाइलो के छ भने दुबै नेताले एमालेका माधव पक्ष र जसपाका सांसदहरुको समर्थन आफूलाई रहेको दावी गर्नुभएको छ ।

ओलीले नेपाल पक्षका २७ सहितका १२१ र जसपाको ३२ सांसद गरी १५३ सांसदको समर्थन आफूलाई रहेकाले प्रधानमन्त्रीमा नियुक्त गर्न दावी गर्नुभएको हो ।

उता, देउवाले पनि आफ्नो दल कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र एमालेका नेपाल पक्षका १४९ सांसदको समर्थन रहेको दावी गर्दै शितलनिवासमा पत्र दर्ता गराउनुभएको छ ।

आश्चर्य के भने आजै दिउँसो पत्रकरा सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफू दिक्क भएको भन्दै प्रधानमन्त्री नबन्ने घोषणा गर्नुभएको थियो।दुई मध्ये कसको दावी उचित हो भन्ने निर्णय गर्ने जिम्मा भने अब राष्ट्रपति भण्डारीको काँधमा आएको छ ।

प्रधानमन्त्री ओलीको इशारामा संवैधानिक दायित्व र कर्तव्य भुलेको आरोप बारम्बार खेप्दै आउनुभएका भण्डारीले लिने निर्णय कत्तिको न्यायिक हुनेछ भन्ने अब केहीबेरमै टुंगो लाग्नेछ ।