कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप्यो

काठमाडौं,जेठ,१७-नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जेठ २५ गते राति १२ बजेसम्मलाई समय थप गरेको हो ।

पार्टी सचिव केशव रिजालका अनुसार तोकिएको समयमा क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भए सच्याउन निर्देशन दिइएको हो ।

रिजालका अनुसार ७७ जिल्लका २०७ स्थानमध्ये १०१ स्थानबाट क्रियाशीलको सफ्टवेयर इन्ट्री भइसकेको छ । बाँकी रहेका १ सय ६ स्थानका लागि पुनः म्याद थपिएको हो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सो अवधिमा पूरा विवरण इन्ट्री गरिसकेका एक सय एक स्थानको नामावली वेबसाइटमा सार्वजनिक गरिसकेको छ ।

जसमध्ये ४५ जिल्लाका ८० स्थानको विवरण ३० वैशाखमा र १६ जिल्लाका २१ स्थानको विवरण शनिबार सार्वजनिक गरिएको छ । सचिव रिजालका पटक–पटक सूचित गर्दा पनि क्रियाशीलको विवरण प्राप्त नभएको भन्दै कांग्रेसले वैशाख १५ वैशाखको रातिदेखि क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने सफ्टवेयर बन्द गरेको थियो ।

अहिलेसम्म करिब आठ लाख सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री भएको छ । कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्मका लागि १४औँ महाधिवेशनको मिति तोकेको छ । तर, महाधिवेशनका लागि तल्लो तहका मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको अझै टुंगो लागेको छैन ।