गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पक्षमा ३१ मत पर्दा विपक्षमा २७ मत

कास्की,असार,४-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाउनु भएको छ ।

शुक्रबार प्रदेश सभामा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले विश्वासको मत दिएका हुन् ।

सभामा उपस्थित ५८ जना सांसद मध्ये ३१ जनाले पक्षमा तथा २७ जनाले विपक्षमा मत दिएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो ।

मुख्यमन्त्री पोखरेललाई उहाँकै पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपासहित स्वतन्त्र सांसदले मत दिएका हुन् । विपक्षमा भने नेकपा एमालेका सांसदहरुले मत हालेका थिए ।

सदनबाट पोखरेलले काङ्ग्रेसको १५, माओवादी केद्रको ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको २/२ तथा स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को १ मत पाउनुभएको हो ।