एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार फेरि बस्ने

फाईल तस्विर !!

काठमाडौं,साउन,६-एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार फेरि बस्ने भएको छ।केन्द्रीय कमिटी बैठक भोली दिउँसो ३ बजे बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो।

मंगलबार सकिएको नेकपा एमालेका प्रदेश अध्यक्षहरुले पार्टी भित्र देखिएको अन्योलतालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन् ।केन्द्रीय कमिटीको बैठकमा आ-आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडी बढाउन समस्या पर्ने भन्दै छिट्टै समाधान गरी लयमा फर्काउनुपर्ने बताएका हुन् ।

मंगलबारको बैठकमा सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा, कर्णालीका अध्यक्ष गोरख बोगटी, लुम्बिनीका अध्यक्ष लिला गिरी, गण्डकीका अध्यक्ष जगत विश्वकर्मा, बागमतीका अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका थिए ।

बैठकमा पार्टी एकताका लागि गठित कार्यदलले हालसम्म गरेका गतिविधिको सम्बन्धमा संस्थापन पक्षका संयोजक सुभाषचन्द्र नेम्वाङले जानकारी गराउनुभएको थियो । भुमि समस्या समाधान गर्न गठित आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोगले देशभर गरेका कामहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

२२ एमाले सांसदलाई सोधिएको २४ घण्टे स्पष्टिकरणको सम्बन्धमा बैठकले कुनै निर्णय नगरेको र सांसदको हातमा पत्र पुगेपछिको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउनुपर्ने उहाँले बताउनुभयो ।