१० दिनभित्र राष्ट्रिय प्रसारण लाईनमा जोडिदैं जुम्ला

फाईल तस्विर !!

सुर्खेत,साउन,५-कर्णाली प्रदेशको दोस्रो ठूलो शहर जुम्लामा अबको १० दिनभित्रै राष्ट्रिय विद्युत् प्रसारण लाईन जोडिने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणसँगको छलफलका क्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा जुम्ला जिल्लालाई अबको १० दिनभित्रै विद्युतको राष्ट्रिय प्रसारण लाईनसँग जोड्ने तयारी भएको जानकारी दिनुभयो ।

उहाँले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीसँगको छलफलका क्रममा जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुर्‍याउन टान्सफर्मरलगायतका विद्युतका सामग्रीहरु अपुग भएमा प्रदेश प्रदेश सरकार आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको बताउनुभयो । 

‘छिमेकी जिल्लासम्म पुगिसकेको विद्युतको प्रसारणलाइन तत्काल जुम्लासम्म पुर्याउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हप्ता १० दिनभित्रमा जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुग्ने अपेक्षा लिएको छु ।’ नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरिले जुम्लालाई राष्ट्रिय प्रसारण लाईनमा जोड्न तीव्रताका साथ काम भइरहेको बताउनुभयो । 

‘कालिकोटसम्म ३३ केभीलाइन पुर्‍याएका छौं, जुम्लामा लाईन विस्तारको काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘एक साताभित्र जुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेका छौं ।’ उहाँले निरन्तरको वर्षाका कारणले काममा समस्या भइरहेको भएपनि चाँडोभन्दा चाँडो जुम्लालाई राष्ट्रिय प्रसारण लाईनमा जोड्ने लक्ष्यका साथ कामले निरन्तरता पाईरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार एक सातामै दैलेखको दुल्लु सव–स्टेशनमार्फत कालिकोटमा ३३ केभी प्रसारण लाईन पुग्दैछ । कालिकोट सदरमुकाम मान्मबाट जुम्लासम्म तत्कालका लागि ११ केभी प्रसारणलाइन पुर्‍याउने लक्ष्य प्राधिकरणको छ । मान्मादेखि जुम्ला खण्डको ३५ किलोमिटर खण्डमा विद्युत् प्रवाह भइरहेको छ ।आर्थिक अभियान