एमाले विवाद : नेपाल पक्षले बुझायो स्पष्टिकरण

काठमाडौं,साउन,७-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरुले संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफ दिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाइएको जवाफमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिएर फेरि आफैं प्रधानमन्त्री बन्न खोजेकाले देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ ।

पहिलो पटकको विघनमै प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिएर अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्नेमा आफैं प्रधानमन्त्री नियुक्त भएको उल्लेख गर्दै जवाफमा ओलीले नै पार्टीको विधान र राजनीतिक नैतिकता विपरीत कार्य गरेको आरोप लगाइएको छ ।

एमाले संस्थापनले बुधबार नेपाल पक्षका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने गरी २४ घण्टे स्पष्टीकरण पत्र पठाएको थियो । तर जवाफ दिने सांसदहरुले भने प्रतिनिधिसभा पुनस्थापना र वैकल्पिक सरकार निर्माणका लागि देउवालाई मत दिएको बताएका छन् ।

देउवालाई विश्वासको मत दिने कार्य नेपालको संविधान, पार्टीको विधान, सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल रहेको जिकीर पनि उनीहरुले गरेका छन् ।