टोकियो ओलम्पिक:सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टकको पहिलो चुनौती समाप्त

प्रारम्भिक चरणबाटै बाहिरिइन्

टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् ।राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् ।सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् ।

यसैविच : कल्पनाले महिला १० मिटर एयर राइफलमा ६१६.८ अंक जोड्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरिन्। उनले ५० जना सुटरमध्ये ४६ औं स्थानमा रहेर ओलम्पिक यात्रा टुंग्याइन्। उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा आफैले बनाएको ६१४.५ अंकको राष्ट्रिय कीर्तिमानलाई असाका सुटिङ रेन्जमा सुधार गरेकी हुन्। यो स्पर्धामा कम्तीमा ६२८.५ अंक जोडेका शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन्।

३२ औं ग्रिष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी छन्। पौडीमा गौरिका सिंहले जुलाई २७ र अलेक्जेन्डर गाडेगार्ड शाहले जुलाई २८ मा प्रतिस्पर्धा गर्दैछन्। एथलेटिक्सकी सरस्वती चौधरीले ३० जुलाईमा दौडनेछिन्। यी तीन खेलाडीले विश्वव्यापी सहभागिताको आधारमा ओलम्पिक खेल्ने अवसर पाएका हुन्। कल्पना र सोनिया आमन्त्रण कोटामा ओलम्पियन बनेका हुन्।