काठमाण्डौं,भदौ,२-नेकपा एमालेबाट विभाजन भएको नेकपा एमाले समाजवादी पार्टीले माधवकुमार नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ।
निर्वाचन आयोगमा बुधबार नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा नेता नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने उल्लेख छ।
पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँले केपी शर्मा ओलीको अध्यक्षतामा रहेको एमालेको केन्द्रीय कमिटीबाट ५८ जना केन्द्रीय सदस्यहरु आफूहरुसँग रहेको जानकारी दिनुभयो ।
नेता पाण्डेले संसद् र संविधानको रक्षाका लागि पटक-पटक गरिएको प्रयत्न सम्भव नभएपछि नयाँ दल दर्ता गरिएको बताउनुभयो।
‘संसद र संविधान रक्षाका लागि पटक-पटक प्रयत्न गरियो’, उहाँले भन्नुभयो, ‘तर, सम्भव नभएपछि नयाँ दल दर्ता गरेका हौँ।’
नेता पाण्डेले दल दर्ताको प्रमाणपत्र पाएपछि नवगठित पार्टीले राष्ट्रिय भेला आयोजना गर्ने बताउनुभयो ।
भेला गरेर आफूहरुले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने पनि उहाँले दाबी गर्नुभयो।नेपाल समूहले ओली समूहमा रहेका नेता-कार्यकर्ताहरुलाई नवगठित दलमा आउन पनि आह्वान गरेको छ।
‘ओली नेतृत्वको एमालेमा अलमलिएर रहेका साथीहरुलाई एमाले समाजवादीमा आउन आह्वान गर्दछौँ’, नेता पाण्डेले भन्नुभयो, ‘त्यहाँ रहेकासँग शत्रुता गर्दैनौँ।’उहाँले ओली नेतृत्वमा रहिरहँदासम्म एमालेसँगको सम्भावना नरहेको पनि बताउनुभयो।
हेर्नुहोस् एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली !!






