जसपा फुट्योः महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता गर्न आयोगमा निवेदन

काठमाडौं,भदौं,२-जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ ।

पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

२४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित ठाकुर समूहले आयोगमा निवेदन दिएको हो । दल दर्ता गरी साइकल चुनाव चिह्न दिन उनीहरुले माग गरेका छन् ।

आफूहरुको पक्षमा १५ जना संसद रहेको जानकारी दिँदै नेता राजेन्द्र महतोले झण्डा तीन रंगको रहने बताउनुभयो ।

केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा विभाजित भएपछि जसपा विभाजित भएको थियो । दुई अध्यक्ष रहेको पार्टीका निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई मान्यता दिएपछि ठाकुर समूह दलविहीन भएको थियो ।

त्यसमा पनि यादव समूहले ठाकुर पक्षका नेताहरुलाई कार्वाही गरेको थियो ।