नेकपा कर्णाली प्रदेशले संसदीय दलको बैठक बोलायो, केन्द्रमा अध्यक्षद्वयकै कुरा मिलेन

फाईल तस्विर !!
फाईल तस्विर !!

काठमाडौं,असोज,२७-आफ्नो दलका सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर तरंगित भएसँगै नेकपा कर्णाली प्रदेशले संसदीय दलकाे बैठक बोलाएको छ ।

संसदीय दलको विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षले दलको बैठक बोलाएका हुन् ।मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका गुलाबजङ शाहलाई प्रमुख सचेतकबाट हटाएर सोको जिम्मेवारी सीता नेपालीलाई दिनुभएको थियो ।

तर आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्रीले गरेको निर्णय मान्य नहुने असन्तुष्ट पक्षको दावी छ भने नयाँ जिम्मेवारी पाएकी मुख्य सचेतक नेपालीले आफू नै दलको आधिकारीक भएको बताउनुभएको छ ।

दुवै पक्षले आज दिउँसोका लागि दलको बैठक बोलाएका छन् । आइतबार नेकपाको कर्णाली प्रदेशका सह इन्चार्जसमेत रहेका नेता यामलाल कँडेलको अगुवाइमा १८ जना सांसदले हस्ताक्षर गरेर अविश्वासकाे प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टी नै तरंगित भएको छ ।

यसैबिच:कर्णालीको विवाद समाधानका लागि केन्द्रमा अध्यक्षद्वयले छलफल गरेपनि कुनै सहमति भएकाे छैन ।प्रदेश राजधानी विरेन्द्रनगरमा पनि हिजो दिनभर दुवै पक्षको छलफल भएको थियो । तर दुवै पक्षले आफ्ना निर्णयबाट पछि नहट्ने अडान लिएका छन् ।

पार्टी एकीकरणको प्रक्रियामा रहेका बेला मुख्यमन्त्रीविरुद्ध आफ्नै दलले अविश्वासकाे प्रस्ताव ल्याउनु गलत भएको भन्दै नेकपा पुन: विभाजित हुनेमा कतिपयले आशंका व्यक्त गरेका छन् भने केही नेता कार्यकर्ताले केन्द्रले नै यो विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

तर दलको यो विवाद मिलाउन केन्द्रले जस्तोसुकै प्रयास गरेपनि आफूहरुलाई मान्य नहुने हस्ताक्षरकर्ता सांसदहरुको अडान छ । उनीहरुले केन्द्रले हस्तक्षेप गरे संघीयताको मर्म विपरीत हुने तर्क गरेका छन् ।