कोरोनाको जोखिम घटेसँगै खप्तडमा भित्रिँदै पर्यटक

डोटीमा कोरोना संक्रमण दर शून्य

Image Not Foundडोटी,भदौ,३-कोरोना संक्रमण दर घटेसँगै पर्यटकीयस्थल खप्तड राष्ट्रिय पर्यटक आगमन बढ्न थालेको छ । वर्षात्का बेला खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै तालसमेत भरिभराउ हुने भएकाले पर्यटक आकर्षित हुन थालेका हुन्।कोरोनाको जोखिम कम भएकाले आन्तरिक तथा बाह्य पर्यटक समेत आउने क्रम बढेको निकुञ्ज कार्यालयले बताएको छ ।

‘डोटीमा कोरोना संक्रमण दर शून्यमा छ, खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको संख्या पनि अधिक छ,’ पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भन्नुभयो, ‘अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउने क्रम बढेको हो ।’ खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास तथा विश्रामस्थल निर्माण भएकाले पर्यटकलाई सहज भएको पूर्वीचौकी गाउँपालिकाका बासिन्दा हरिभान साउदले बताउनुभयो।

निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । ‘अहिले खप्तड पर्यटकको प्रमुख रोजाइमा छ, खप्तडसम्म पूर्ण यातायात र खाने बस्ने सेवासुविधा भए थप पर्यटक आउनेछन्,’ उहाँले भन्नुभयो।

निकुञ्ज कार्यालयका अनुसार अहिले खप्तडमा दैनिक ९० जनासम्म पर्यटक आउने गरेका छन् । निकुञ्जमा बाजुरा, अछाम, बझाङ र डोटीका धेरै पर्यटक आउने गरेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो ।

निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक स्थलका साथै विभिन्न जंगली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुंगा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठमा गंगा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्न सुदूरपश्चिमसहित अन्य प्रदेशबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको बग्लेकका बासिन्दा दिनेश ठकुल्लाले बताउनुभयो ।

पर्यटकको सुविधाका लागि पूर्वीचौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा बग्लेगसम्म सडक सुविधा पुर्‍याइएको छ । बग्लेगबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

‘झिग्रानासम्म सडक सुविधा पुर्‍याउन हामी सफल भयौ,त्यहाँबाट पर्यटकको माग बमोजिम घोडाको पनि व्यवस्था पनि मिलाउन सकिन्छ, खप्तड क्षेत्रमा रहेको खप्तड स्वामीको आश्रमको संरक्षण तथा संवर्द्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी तथा खप्तड पर्यटन विकास समितिले गरिरहेको छ । गाउँपालिका, गाउँपालिकाकै वडा नं २ र होटल व्यवसायी संघको संयुक्त लगानीमा बग्लेक गाउँका १० घरमा घरवास शुरू गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्ला संगमस्थल बनेको निकुञ्जभित्र नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रमका साथै विभिन्न किसिमका वनस्पति र चराचुरुंगी देख्न सकिन्छ । यसको क्षेत्रफल २२५ वर्ग किमी छ । समुद्री सतहबाट ३ हजार ५०० मिटरसम्म उचाइमा रहेको निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० मध्ये २६० भन्दा बढी चराचुरुंगी पाइन्छ । खप्तड निकुञ्ज क्षेत्रमा अन्य ५२ दह छन् ।

निकुञ्जभित्र कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थारल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायत जंगली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको त्यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जंगल छ । त्यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा चर्न आउने गरेको देखिन्छ । जैविक विविधताले भरिएको यो क्षेत्रलाई २०४० सालमा राष्ट्रिय निकुञ्ज बनाइएको थियो । रासस