मानवीय कारणले हुने क्षति न्यूनीकरणमा सतर्कता : गृहमन्त्री थापा

म्याग्दी,कात्तिक,२६-

गृहमन्त्री राम बहादुर थापा बादल
(Home Minister Ram bahadur Thapa “Badal”)

गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गर्नुभयो ।

उहाँले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो ।

विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले मदिरा र लागुऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान शुरु गरेको बताउनुभयो ।

कालोबजारी नियन्त्रणका लागि सरकार सशक्तरूपमा अघि बढ्ने बताउँदै गृहमन्त्री थापाले सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी चौकी थप गर्ने बताउनुभयो ।

म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ थियो । उहाँले हिमालै हिमाल भएर पनि म्याग्दी हिमाली जिल्ला घोषणा हुन नसक्दा कर्मचारी आउनै नमान्ने र आएपछि सरुवा भइहाल्ने कारण उत्पन्न कर्मचारी अभावको समस्या समाधानका लागि नीतिगत पहल गर्ने बताउनुभयो । (रासस)